गुफावाला यात्रा



हालचालै मालिका गाउँ पालिकामा गुफा भेटियो रे भन्ने खबर सुनेर मालिका तिर जाने निर्णय गरियो । कस्तो होला कत्रो होला भन्ने खुलदुलीले सताइरह्यो । ड्राइभर त जुटाइयो तर बाइक कसको लिने? समस्या पर्यो।म चै घर नगइ गुफा हेर्न जाने भनेर बसेको थिएँ । घरमा गाली गर्दै हुनुहुन्थ्यो उतै बस भनेर ।
बल्ल बल्ल बाइकको जुगाड गरियो । अनि हिडियो भाडगाउँको बाटो हुँदै मालिका तिर । सुनिल गुरुको पछाडि म अनि बिष्णु काजीको पछाडि राजु सर । बाटो त राम्रै नै थियो । एक दुई ठाउँमा भने अलिक गारो पर्यो ।
हामी जति पर पुग्थ्यौँ त्यति नै फरक देख्दै गयौँ, बडागाउँ कटेपछि मुसिकोट आयो ।
मुसिकोटलाई पार गरेपछि बल्ल पौदीअमराइ देखियो । ब‍ाटोभरि खरका घर हाम्रो गाउँमा खरका घर देखिदैनन् ।
त्यो ठाउँमा भने अझै रहेछन् । अचम्मै लाग्यो अहिले नि खरको घर ? परम्पराको सुरक्षा गरेको कि गरिबी ?
मन एकतमासको भयो । बाटोभरि केटाकेटी खेलेका ।
अनुहार हेर्दा यस्तो लाग्थ्यो कि ती केटाकेटीले तीन चार दिनसम्म मुख धोएका छैनन् । बाटो फराकिलो तर धुलो ।
धुलोले लगाएको ज्याकेटको खास कलर केहो ?  चिन्न गारो थियो। धुलो खाँदै ठुलठुला पहाड हेर्दै नेटा पुगियो ।
नेटा पुग्नुभन्दा पैला धेरै चोटी लेकमा पुग्दै फेरि खोलामा झरि लेकमा चढियो । बाटोको संरचना नै त्यस्तै हामी के गर्न सक्थ्यौँ र  ? मनलाई सम्हाली दुइ पाङ्ग्रे गाडीमा दौडिरह्यौँ ।
अँ साच्चै जीवन पनि यस्तै धुलाम्मे सडकमा यात्रा गरेझैं भाछ ।
मजा त आउने तर सारै कष्ट । २ :२० मा नेटा पुगियो,जगत सरको घर नेर बाइक रोकियो जगत सरले यहाँबाट पैदल जानुपर्छ
तपाईंहरु आधा घन्टाजति हिड्नु पर्छ ।
बाटो पहिल्याउदै भन्नुभयो। हामी बिना बाइक तर झरियो ।
केही तल झरे पछि बल्ल ज्ञात भयो कि हामी अलि माथिबाट नै झर्नुपर्ने तर तल झर्यौँ । फेरि माथि निस्कियौँ । काजी केही स्नाक्स लिने भनेर पछि छाडिएका थिए। काजीलाइ फर्काइ हामी अलि माथिबाट तल झर्यौँ ।
धन्न हामी सही बाटो गएनछौ नत्र काजी त अलपत्र हुने । यही विषयमा एकैछिन रमाइलो गरियो । अलि तर झरियो । तल झर्ने क्रममा दुई जना स्थानीय जस्ता देखिने युवक भेटिए । उनीहरुलाई सोधेको गुफा भएको ठाउँमा जान त एक घन्टा लाग्छ । तपाईंहरुलाइ फर्किन भने डेढ घन्टा लाग्छ। हामी सबै थाकेका
गुफासम्म जाने आँट आएन । तलबाट माथि एक जना बुढा टाउकोमाथि अलिकति सुकेका हाँगा लिएर आउँदै थिए । बाजे यता त गुफा छ रे नि त 
कहाँ छ भनी प्रश्न गर्दा बुढा तीन छक परे । गुफा ? के हो गुफा ? गुफा सुफा छैन यहाँ ।
बरु ओडार चै भेटिया छ पारी जङ्गलमा बुढाको जवाफ । बुढाको कुराले तिन छक परेँ म
गुफा भन्ने था रैनछ तर ओडार भन्ने था रैच। त्यही नजिक घर रहेछ । घरबेटी आँगनमा बसेर डोको बुन्दै थिए।
घरको आधा भाग भत्केको, आँगनमा केही भाँडाकुडा सुकाइएका थिए ।
उही पुरानै प्रश्न दोहोराइयो यता गुफा छ रे नि त, तलको जङ्गलमा बाघ पाइन्छ त ?
के को गुफा हुनु ओडार छ ।
बाघ त जावालाखेलमा नै होला नि। चितुन तिर नि होला । चितुन र जावालाखेल कहाँबाट सुनेका रहेछन् कुन्नि !
थर बताउन खोज्दा म गोकर्ण विष्टको वंश हो भन्थे । गोठमा केही पनि दिँयाबाच्छा रैनछन् ।
न त कुखुरा । ५६/५७सालतिर म हुम्ला जाँदा त्यहाँ त्यति विकट देखेन जति यहाँ देखेँ । हुम्लीहरु सारै सिपालु ।
बढा अचम्मका सामानहरु बनाउने । आफ्नै छुट्टै सभ्यता बोकेका आफ्नो छुट्टै पहिचान । तर ती बुढालाई देख्दा सारै दया लाग्यो। आफ्नै हालत ती बुढाभन्दा कम नभएको भन्दै आफैलाई सम्झाउने चेष्टा गरियो ।
फर्कियौँ हामी गर्हौँ मन बनाएर गुफा हेर्न गएका हामी नहेरीकन फर्किदै थियौँ ।
समयले नि साथ दिएन । जाँदा निकै ढिलो भयो । फेरि भोलिबाट एकै हप्ता बिजी हुनु छ ।
ओडारको ह्याङओभर सक्के जस्तो लाग्यो अनि आफ्नै ठाउँमा फिर्ता हुँदै थियौँ।

अलि माथि आउँदा डोजर पल्टियो रे भन्ने खबर सुनियो।
भरखरै अन्डा र चाउचाउ खाएर गाडी स्टार्ट गर्दा गर्दै डोजर पल्टेको कुरा एक जना आइमाइ मान्छेले रुँदै कुरा गर्दैथिन् । डोजर निकै तल पल्टेको थियो । त्यति तल खसेको डोजर ड्राइभर के बाँच्ला र ?
मन दुखी भयो।मान्छेको जीवन कर्कलाको पानी जस्तो भरखर छ  भरखर छैन । त्यहि पनि घमन्ड देखाउँछ
मै हुँ भन्छ । ढिला भैसकेको थियो हामी त्यहाँबाट हिड्यौँ ।
अलि पर पौदीअमराइमा पुगेपछि गाडी रोक्यौँ र त्यहाँको असइलाइ घटनाको वृतान्त सुनाइयो ।
एउटा बाइक नि छैन यहाँ त समयमै घटनास्थलमा पुग्न सकिदैन। असइले पीडा सुनाउँदै थिए ।
त्यो विकट ठाउँमा एउटा बाइक भइदिएको भए कति सजिलो हुन्थ्यो होला । सरकारलाइ गाली गरियो एकैछिन ।
अरु क्यार्न सकिन्थ्यो र ? समय निकै बितिसकेको थियो,खोलाको किनारै किनार
छोटो बाटो हुँदै घर जाने निर्णय गरियो । ओहो ! बाटो त बाफ रे ? धुलो निकै नै बाटोको लिक नि नभेटिने। ढुङ्गा उस्तै
रातडाँडा नपुग्दा सम्म त मुटु नै कामिरह्यो । बल्ल बल्ल रातडाँडा पुगेपछि मन थामियो ।
अब त बाँचियो भन्ने ठहरियो अनि आफ्नै झुपडीतिर लागियो ।

नाेट-घटना केही पुरानाे हाे तर हालचालै लेखिएकाे छ । 

No comments

Powered by Blogger.