आत्मा र म

सुतिराथेँ । एक्कासि ढोकामा कसैले ढक ढक बजायो । हैन कस्तो सोमत नभा मान्छे हो यो ? एक  दुई चोटि पो बजाउनु नि, धेरै बजायो भने कस्तो खल्लो लाग्छ । पारा तातिसकेको थियो । को रैछ चिन्नुपर्यो  अनि झपार्नुपर्यो भनी ढोका खोलेको त झण्डै बेहोस भर नलड्या ।
नाइकको लोगो अङ्कित भएको ट्राउजर लगाएको अनि माथि पट्टि चै रोलिङ् स्टोनको जिब्रोवाला प्रिन्टेड टिसर्ट लगाएको । ठ्याक्कै मेरो हुलिया रैछ ।
पाउदेखि शिरतर्फ नजर लाँदै थिएँ । अनुहार देखेको त ठ्याक्कै मेरो जस्तै सेम रहेछ । एक पल त किमकर्तव्यब्यूमिढ भईहालेछु । पछि जाग्दा त बिस्तारामा आफूलाई पाएँ ।

होइन हजुर को हो ?  यो दुनियाँमा उस्तै अनुहार भएका मानिस हुुन्छन् भन्थे हो रैछ आज था भयो । होइन म तेरो आत्मा हुँ उसको जवाफ ।
आत्मा रे ? हैन आत्मा त मानिसको शरीरमा हुन्न र भन्या ? म ट्वाँ पर्छु उसका कुरा सुनेर ।
हो म भित्रको स्वरुप हुँ । तेरो कुरुप क्षणभङ्गुर शरीर भित्रको हिस्सा हुँ म । ए मेरो सो कल्ड आत्मा पो ।
ल भनिदे,“म यहाँ किन आको हुँ , मेरो उधेश्य के हो ? म किन जन्मिएँ ? मलाई त यो सबै दुनियाँ व्यर्थ लाग्छ ।
यो दुनियाँको सबै कुरालाई म घृणा गर्छु । म यो दुनियाँ मेरै अगाडि ढलेको देख्न चाहन्छु ।
मेरै अगाडि सारा मानिसका अहङ्कार घमन्ड तोडिएको देख्न चाहन्छु । सबै एउटै स्तरमा मरेको देख्न चाहन्छु । भनी दे मलाइ यो दुनियाँ रनभुलैया हो भनेर ।
मेरा कुरा सुनेर मेरो प्रतिमूर्ति उर्फ आत्मा मुसुमुसु हाँस्छ । मेरो भने पारा तातेर आउँछ ।

विगत दुई वर्षदेखि यिनै कुराहरुले मलाई दिनरात सताइरहेका छन् । कति धेरै रातका प्रहरहरुमा म जाग्दै चन्द्रमामा लागेका दागहरु नियालेँ । ती प्रत्येक दिन दिन होइनन् ।
ती त सुसाइडल स्टेट हुन् म दिनदिनै सुसाइडल स्टेट पुग्छु । खै भनिदे मलाई यो दुनियाँको सत्य खास कुरा ।
मैले जानेको सत्य मृत्यु मात्र हो र आजको सो कल्ड प्रविधिमुखी युगले पनि याँ भन्दा केही था पाएको छैन ।
बताइदे मलाइ मृत्युबाहेक अर्को नि सत्य छ । यो दुनियाँमा हजार थरि मान्छे छन्, हजार थरिले हजार थरि कुरा सुनाउँछन्
कसको कुरा मान्नु ? आफ्नो लागि बाँच्ने कि अर्काको लागि बाँच्ने ?
कसको लागि पीडाको भारी बोक्ने ? कसको लागि भविष्य बनाउने ? अन्तिममा म कहाँ जाने ? के गर्ने ? मैले के लिएर जाने ? यी विविध प्रश्नको उत्तर म खोज्दै थिएँ ।

उ फेरि मुस्कुरायो ।
यसपालि उसको अनुहारमा अर्कै चमक थियो ।
मानौँ उ फेयरी टेल्सको परीजस्तै चम्किएको थियो ।

यो दुनियाँ भनेको व्यर्थ हो । यहाँ दिन र लिनको लागि केही पनि छैन । यहाँ सबै कुराहरु क्षणभङ्गुर छन् । यद्दपि यो संसारको पनि अन्त्य निश्चित छ ।
यहाँ हर मान्छे आउँछ, आफ्ना–आफ्ना स्टेटमेन्ट दिन्छ । आफूलाई सर्वेसर्वा ठान्छ ।
एकले अर्कालाई पछार्न अनेक चाल रचिन्छ । आफ्ना बकम्फुसे सिद्दान्त अनुसार मानिसलाई बाँध्न खोजिन्छ ।
धर्मको नाममा, नीतिको नाममा, सभ्यताको नाममा, भौतिक सुविधाको नाममा, सिभिलाइजेसनको नाममा, अनेक नाममा ।
केकेको नाममा हो केकेको ।
कसैलाई स्वच्छ रुपमा जीउन दिएको छैन यो दुनियाँले । सबैलाई आ आफ्ना तानामा झुन्ड्याएको छ ।
यो दुनियाँको एउटा व्यवस्था भने सारै मनपर्दो छ ।
त्यहिं देखेर नै मनमा भएका सारा पीडाहरु आफसे आफ बिलिन भएर जान्छन् । मनमा एक किसिमको आनन्दी प्राप्त हुन्छ ।
यस्तो लाग्छ कि म हावामा बिना साधन उडिरहेको छु ।

मिल्की वे ग्यालक्सीको पृथ्वी नामक ग्रहमा करिब जति मानिस छन् । कसै न कसैलाई केही कुरा कमि भएकै हुन्छ ।
अँ सबै कुरा भए पनि त्यो नभएको कुराले सारै हीनताबोध गराउँछ । यहाँ कोही पनि पूर्ण छैन । धन्न मानिस पूर्ण छैन ।
यदि मानिस पूर्ण भएको भए यो दुनियाँको नास उहिल्यै हुन्थ्यो । आत्माले मलाइ रोचक कुरा सुनाउँदै थियो।

मान्छे बिनाउद्देश्य ठिक कि उद्देश्यसहितको ठिक ?
वास्तवमा भन्ने हो भने बिना उद्देश्यको जीवन ठिक किन भने बिना उद्देश्यको जीवन धेरै एड्भेन्चरस हुन्छ ।
लक्ष्य लिएको मान्छे सीमित दायरामै रहन्छ । उसले जीवनका अनेक मोडहरुसित राम्रोसित दोस्ती गर्न सक्दैन ।
लाइफ इज अ जर्नी नट अ डेस्टिनेसन भन्छन् नि अङ्ग्रेजीमा ।
अझै प्रश्न सोध्ने जमर्को गर्दैथिएँ । एक्कासि फोन बज्यो अनि म ब्युझिएँ ।
फोन पनि यतिबेलै बज्नु पर्ने । अझै आधा घन्टा नबजेको भए कति धेरै कुरा सोध्थेँ होला।
कस्तो ऐठन सपना देखिएछ हौ । म फतफताउँदै मुख धुन बाथरुमतिर लागेँ ।

No comments

Powered by Blogger.