महाकवि लक्ष्मीप्रसाद देवकोटा




नेपाली भाषाको क्षेत्र अङ्ग्रेजी भाषाजस्तै व्यापक हुन्थ्यो भने विलियम सेक्सपियरको ठाउँमा आज देवकोटा हुन्थे। उनी महाकवि मात्र नभई एक युगपुरुष हुन्,मिथक हुन्,ज्ञानका मार्गद्रष्टा हुन्।

शंकर लामिछानेले देवकोटालाई भनेका थिए, “कविज्यू ! तपाईं खराब समयमा जन्मिनुभयो। तपाईंको प्रतिभालाई सरकारले बुझ्न सकेन।” अब बुझोस् पनि कसरी? एक त देवकोटा क्रान्तिकारी, अर्कोतिर राणा शासनको भुंग्रोमा। राणा शासनको अँध्यारोमा देवकोटोका ज्ञानको आलोक पहिचान हुने कुरै भएन।

देवकोटाको सिर्जनशीलता अद्वितीय थियो। उनले एक रातमा खण्डकाव्य कुञ्जिनी, दश दिनमा महाकाव्य सुलोचना अनि शाकुन्तलजस्तो महाकाव्य तीन महिनामै तयार पारे।

तिनताक सबाल्टर्नहरू सायदै नायक (प्रोटागोनिष्ट) बनाइन्थे। तर, उनले मगरलाई प्रोटागोनिष्ट बनाए।  त्यसैले त उनी उदात्त स्वभावका थिए। बाटाेमा मगन्ते, भिखारी देखे भने कोट टक्टक्याउँथे भन्ने मिथ नेपाली समाजमा व्याप्त छँदैछ। उनका दयालु स्वभावका अनेकन किस्सा साहित्यवृत्तमा छलफलका विषय बनाइन्छन्। २०१४ सालमा शिक्षामन्त्री भए पनि देवकोटामा सरलता प्रशस्त मात्रामा देख्न सकिन्थ्यो।

देवकोटा नेपाली, संस्कृत अनि अङ्ग्रेजी तीनवटै भाषामा पोख्त थिए। उनले अङ्ग्रेजीमा समेत राम्रो कविता कोर्न सक्थे, त्यो पनि छोटो समयमा। उनी महाकवि मात्र नभई आँसु कवि पनि हुन्। नेपाली साहित्यमा स्वच्छन्दतावादी धाराका प्रवर्तकका रूपमा देवकोटा चिनिन्छन्। साहित्यलाई कुनै नियममा बाँध्नुहुँदैन , यो त हृदयबाट आउने स्वतस्फूर्त धारा हो भनेर विचार गरेकाले कतिपय बेलामा उनलाई एक्ल्याइयो पनि।

महापण्डित राहुल साकृत्यायान भन्छन्, “भारतीय कविता साहित्यको थालनी सोह्रौँ शताब्दिदेखि बीसौँ शताब्दिको मध्यसम्म अनेकन कठिनाइहरू पार गर्नुपर्‍याे। नेपाली कवितालाई भने त्यो त्यति समय लागेन। भारतको चार शताब्दीको यात्रा नेपाली कविताले एकै शताब्दीमा पूरा गर्‍याे। यसैगरी, अङ्ग्रेजी साहित्यमा एक सय वर्षमा धेरैको प्रयत्नबाट पूरा भएको साहित्यभण्डार यहाँ एक्लो देवकोटाबाट पूरा भयो। यसको एउटा निर्विरोध प्रमाण देवकोटा नै हुन्। हाम्रा हिन्दीमा पन्त, प्रसाद र निरालाहरूलाई देवकोटाभित्रै पाउन सकिन्छ। देवकोटा जनताको सरल, सरस र सहज भाषामा मुनामदन, कुञ्जिनीका महान् नायक हुन्।”

अझ यो पनि भन्ने गरिन्छ कि देवकोटालाई महाकविको रूपमा चिनाउने पनि महापण्डित राहुल नै हुन्। उनले साहित्यिक गोष्ठीमा देवकोटाको खुब प्रशंसा गरेका थिए।

यसैगरी, कम उमेरमा महाकाव्य लेखेर मदन पुरस्कार जितेका मोदनाथ प्रश्रित भन्छन्, “देवकोटालाई चुलीमा पुर्‍याउने काव्य भनेकै मुनामदन हो। उनको ख्यातिको सत्तरी प्रतिशत श्रेय मुनामदनलाई जान्छ भने बाँकी बीस उहाँको हृदय विदारक जीवन अनि त्याग र स्वाभिमानीलाई छ। अनि बाँकी दश प्रतिशत मात्र अरू सारा ढर्राहरूलाई छ। देवकोटाको कल्पनाशक्ति यति थियो कि उनी भोट तिब्बत नगए पनि त्यहाँको बारेमा दुरुस्तै उतारे। मदनलाई प्रतिनिधि पात्रको रूपमा चुनेर देवकोटाले सम्पूर्ण नेपालीको मुग्लान पस्नुपर्ने बाध्यतालाई बढो प्रभावकारी ढंगले प्रस्तुत गरे। यति मात्र हाेइन,  उनले लोक झ्याउरेलाई पनि काव्यमा स्थान दिए। मुनामदन पढ्दा जहाँ एकातिर हामी उच्चकोटीको काव्य पढिरहेका हुन्छौँ भने अर्कातिर नेपाली जनजीवन नै मुनामदन हो जस्तो अनुभूति हुन्छ। यस किसिमको व्यावहारिक र यथार्थ जनचित्र कविको अरू कृतिमा देखा पर्दैन।”

कुञ्जिनी खण्डकाव्यमा गोरेको र कुञ्जिनीको आत्मिक प्रेमलाई देखाइएको छ। प्रेमले जातभात नभन्ने कुरा यसबाट प्रमाणित हुन्छ। यसैगरी देवकोटा क्रान्तिकारी थिए भन्ने कुरा प्रष्ट छ्याङ्ग देखिन्छ। धनी र गरिबको प्रेम सफल हुन नदिने यो समाजको कुकृत्यलाई यस खण्डकाव्यबाट बुझ्न सकिन्छ। एउटा गरिब अनि जनजाति पात्रलाई हिरो बनाएर देवकोटाले जातीय उत्थान गरे।

यसैगरी, सुलोचना महाकाव्य जुन पन्ध्र सर्गमा बाँधिएको छ। जसका प्रत्येक सर्गमा नौलोपना भेट्न सकिन्छ। पूर्वीय मान्यतानुसार नायक देवता अथवा उच्च वंशमा जन्मिएको क्षेत्रीय हुनुपर्छ भन्ने मान्यता छ।  समाजको जुनसुकै तह वा तप्काको मान्छे  पनि महाकाव्यको नायक हुनसक्छ। जसरी ‘चिसो चुह्लो’मा सन्ते दमाइलाई नायक बनाएर समले क्रान्तिकारी भएको दाबी गरे। त्यसैगरी, देवकोटाले दमैलाई नायक नबनाए पनि सामान्य परिवारमा जन्मेको अनंगलाई नायक बनाएका छन्। अरू नायकोचित गुण भने अनंगमा थुप्रै रहेका छन्।

संस्कृत साहित्यमा महाकवि कालिदासको ‘शाकुन्तला’ नाटकलाई देवकोटाले महाकाव्यमा ढालेका छन्। पहिला नेपाली गरिब जनजीवनको कथा सुनाउँदै हिँड्ने देवकोटा यसमा भने दुश्यन्तको चाकडी गर्न दरबार छिरेका छन्। पौराणिक कथा भएको हुनाले यस महाकाव्यमा हात हालेका हुनसक्छन्। तर, यस महाकाव्यमा गौतमीलाई ऋषि कण्वको पत्नी बनाएर देवकोटाले ठूलो गल्ती गरेका छन्। वास्तवमा गौतमी कण्वकी बहिनी थिइन्।

महाकवि देवकोटामा अङ्ग्रेजी रोमान्टिक कविहरूको प्रभाव प्रशस्त मात्रामा देख्न सकिन्छ। उन्नाइसौँ शताब्दिका मुख्य कविहरु थिए: विलियम वर्डस्वर्थ, कलरिज, वाइरन, शेली र किट्स। रोमान्टिक कविहरू कृतिम वातावरणलाई छाडेर  प्रकृतिको रम्य काखमा पुग्छन्। प्रकृतिबाट नै उनीहरू दया माया ममता र प्रेम पाउँछन्। स्वच्छन्दतावादी कविहरू खोलानाला, पहाड, बगैँचा, जङ्गल जता पनि पुुग्छन्। उनीहरू सीमिततामा बस्न रुचाउँदैनन्। 

देवकोटामा यी रोमान्टिक कविहरूको निकै गहिरो प्रभाव थियो। प्रभाव परे तापनि त्यसलाई आफ्नो वरपरको वातावरणमा ढाल्न सक्ने क्षमता उनमा थियो अनि त्यसलाई केवल अनुकरणको रूपमा मात्र नराखी आफ्नो भाषा, शैली र विषयवस्तुमा ल्याएर आफ्नो अनुकूलमा उतार्न सक्ने सामर्थ्य पनि थियो। कपी गर्नु र अरूबाट प्रभावित भई आफ्नो क्षेत्रानुसार ढाल्नुमा निकै नै फरक छ। जुन कुरा सबैसँग थिएन। विचारको उत्तेजना, कल्पनाको भरपुर उडान, वास्तविकताबाट टाढा जानु, मानवीय शक्तिको सीमाना पार गरेर अनन्तमा व्यापक हुन खोज्नु नै देवकोटाको खास विशेषता थियो।

आदिशिरोमणि लेखनाथ पौडेलको परिष्कारवादी धारालाई स्थानान्तरण गर्दै देवकोटाले लगातार पच्चीस वर्षसम्म स्वच्छन्दतावादी धारा (जसलाई भारतमा छायावाद र पश्चिममा रोमान्टिज्म भनेर बुझिन्छ ) मा कलम चलाइरहे। जीवनको उत्तरार्द्ध तिर भने उनलाई क्यान्सरले च्याप्यो। उनले कृतिमा भगवानको गुणगाण गाएपनि वास्तवमा उनी अनिश्वरवादी थिए भनेर मोहन कोइरालाले समीक्षामा बताएका छन्। तर मर्ने बेलामा भने, “आखिर रहेछ श्रीकृष्ण एक”भन्दै ईश्वरको अस्तित्व स्वीकारेका थिए। पचास वर्षको उमेरमा उनले यो धरा छाडेर गए। अझै दश वर्ष बाँचेको भए उनले अजेय कृति रचना गर्नसक्थे होला।


No comments

Powered by Blogger.