मान्छेकाे संगत





बालक जन्मिन्छ, जन्मेपछि उ आमाको काखमा रम्न थाल्छ । सानो छँदा आमाको काखमा लडीबुडी गर्ने बालक हुर्कंदै गएपछि उसलाई आमाको काख अपुग हुन थाल्दछ । त्यसपछि उ आमाको काख छाडी घर वरपर गर्दै टाढाटाढा जान अभ्यस्त हुन्छ । आमाको काखमा बसेर मात्र पनि कहाँ पुग्छ र ? आमाको काख त छाड्नै पर्छ ।
मानिसले आफ्नो जीवनकालमा अनेकन मानिसहरुको संगत गर्दछ । बच्चा बेलाका साथी, स्कुलका साथी, कलेजका साथी, जागिर गर्दाका साथी, जीवनसाथी ब्ला ब्ला ब्ला । उसले जीवनयापन गर्ने क्रममा अनेकन मानिसका राम्रादेखि नराम्रा गुण दुबै आर्जन गर्दछ । भन्ने गरिन्छ की राम्रा गुणहरु मात्र लिनुपर्दछ । तर सबैमा त्यो लागु नहुन सक्छ ।

मान्छेको संगत स्थायी होस् या अस्थायी गर्ने पर्ने हुन्छ । नत्र एक्लो जीवन त गाह्रो नै हुन्छ नि । होइन र ? एक्लो जीवन निर्वाह गर्न स्वत नै गाह्रो हुने कुरामा दुईमत नै छैन । कहिलेकाहीँ नचाहेरै पनि कसैको संगत पर्ने हुन्छ त कहिले चाहेको मान्छेसँग संगत गर्न पाइंदैन । यस्तो खालको समस्याबाट ममात्र गुज्रिएको छैन होला सायद । मजस्ता तमाम मानिसका साझा समस्याहरु हुन् ।

कसै कसैले छोरो मानिस भएपछि आलुदेखि भालुसम्मको संगत गर्नु पर्दछ भन्छन् । मैले पनि आलुदेखि भालुसम्मका संगत गरेँ त भन्दिन तर केही मानिसहरुको संगत भने अवश्य गरेको छु नै । अब म मेरो संगतको बारेमा यहाँ बताउने छु ।

स्कुल पढ्दा एकजना साथी थियो । सानैबाट नशालु स्वभावको । त्यो बेलामा उससँग फोल्डिङ्ग मोबाइल थियो । म मोबाइलको किरो थिएँ । म उसको मोबाइल चलाउने बहानामा तेस्रो पिरियडमा सधैं उससँग मिलेर क्लास बङ्क गर्थेँ । उसले बाटोमा गाँजा र सलाइं लुकाएर राखेको हुन्थ्यो । मेरो काम भने बाटोमा कोही आउँछ कि भनेर हेर्दै बस्थेँ । अनि उ चैं धार्नेको पातमा गाँजा भरी तान्न थाल्दथ्यो । उसको मोबाइलमा न त मेमोरी कार्ड थियो, न त क्यामेरा नै । बस म त्यो फोनमा भएको रिङ्गटोन सुन्नको लागि उसको साथ दिइरहेको थिएँ । तेस्रो पिरियड सकिन १५ मिनेट बाँकी छँदा हामी क्लासमा छिथौैँ । कहिले काहीँ सरले ढोकामै प्रश्न गर्नुहुन्थ्यो । यसरी कक्षा ८ का दिनहरु बिताइयो । अहिले त्यो साथी भारतमा छ । मैले एस.एल.सी दिएपछि उसलाई देखेको छैन । अर्को साथीमार्फत् उसको बारेमा सोध्दा उ अझै पनि गाँजा, गोटी, क्याप्सुल लिन्छ भन्ने सोंचेको थिएँ । अब सत्य हो या असत्य यो भने भगवान नै जानुन् ।

एस.एल. सी दिएपछि प्लस टु पढ्न छिमेकको जिल्लामा गएँ । त्यहाँ पनि अनेकन साथीको संगत गरियो । तर ती साथीहरुमध्ये कसैसँग पनि मेरो अहिले कन्ट्याक छैन । सायद त्यो संगत अस्थायी थियो होला । प्लस टु पढ्दा मेरा एउटा पनि बाहुन साथीहरु थिएनन् । म सधैं मंगोलियन साथीहरुसँग उठबस गर्थेँ । मैले बाहुन साथी नपाएको हो की बनाउन सकिंन यो विषयमा म अझै पनि अनभिज्ञ नै छु । एकदिन एक जनाले तँ कसरी यी मंगोलियन साथीहरुको संगत गरेको छस् बाहुन भएर पनि ? म खिस्स हाँस्थेँ ।

मोमो खान होस्, फिल्म हेर्दा होस्, अथवा बर्तुङको खोलामा नुहाउँन जाँदा होस्, म सधैं ती मंगोलियन साथीहरुसँगै गएँ । एकचोटि तिनै साथीमध्ये एकजनासँग जंगलमा गएँ । जंगलमा अरु पनि पुगेका रहेछन् । थरिथरि हुलिया भएका । म तिनीहरुलाई देखेरै अचम्मित भएको थिएँ । जंगलको बीचमा गाँजा केलाउन थाले । धार्नेको सुल्फामा बनाएको गाँजा मैले पनि नतानिकन धर पाइन । गाँजा खाएपछि केटाहरु मेटलका कुरा गर्थे । म केही बुझ्दिनथेँ । म भर्खर गाउँ छाडी सहर पसेको १६ वर्षे ठिटो । ती कुराहरु मेरो लागि नौला थिए । त्यो दिनपछि म पनि मेटल सुन्न थालेँ । ममा पनि मेटलको भूत लाग्न थाल्यो । जानी नजानी गीत गाउनु, स्क्रिम गर्न गर्नु, मोबाइलमा साथीहरुबाट गीत हाल्नु मेरा दैनिक गतिविधि भए ।

गाँजा तान्ने मात्र नभई गोटी, ब्राउन सुगर खानेको पनि संगत गरियो । अहिले सम्झिंदा अचम्म लाग्छ । आखिर मैले किन उनीहरुको संगत गरेँ ? म आफै अचम्मित हुन्छु । कहिले काहीँ साथीहरुलाई यी कुरा सुनाउँदा उनीहरुले के पाइस् भन्छन् । पाउनको लागि संगत गर्ने होइन । उनीहरुसँग बिताएका क्षणहरु मेरा लागि अमूल्य क्षण हुन् । उनीहरु कुल पाराका थिए । न त कसैसँग रिसराग थियो न त केही । आफ्नै धुनमा मस्त ।

ब्याचलर पढ्दा चुनावको बेलामा विद्यार्थी नेताको संगत गरियो । नेताज्यू चुनावअगि राम्रोसँग बोल्थे । अन्त्यमा चुनाव रोकियो । नेताजी टाढिए । उनको लागि दिनरात लागियो । अन्त्यमा हात्ती आयो हात्ती आयो फुस्सा भयो । विद्यार्थी नेताबाट सिकेको कुरा नेताको कहिल्यै संगत गर्नु हुँदैन । राजनीतिक नेताको व्यवहार पनि त्यस्तै हुन्छ जस्तो लाग्छ ।

केही विद्धानको पनि संगत गरियो । केही कुरा सिकियो । जे होस् विद्धानको संगत फाइदाजनक नै भयो । तर विद्धानहरुको हर कुरालाई ठोकुवा गरेर भन्ने बानी भने फिटिक्कै मन परेन । त्यहीं भएर ती विद्धानभन्दा मलाइ प्लस टु पढ्दाका नसेडी साथीहरु प्यारा लाग्छन्, बढी सम्झनामा आउँछन् ।

जीवन प्लस टु पढ्दा ताकाजस्तो रहेनछ । समय बित्दै गयो । अलिअलि बुद्धि पलायो । अहिले फाल्टु साथीहरु बनाउन मन लाग्दैन । यद्यपि कहिले काहीँ ती टाइपका केटाहरु देख्दा झलझली ती साथीहरुको याद आउँछ । अहिले आफैलाई हेरेर अचम्म लाग्छ । अहिले क्रिएटिभ साथीहरुसँग संगत छ । आफूमा केही क्रिएटिभिटी नभए पनि साथीहरुबाट केही भए पनि सिकिरहेको छु ।

No comments

Powered by Blogger.