एउटा यात्रा



हिजो काट्नुपर्ने टिकट हिड्दा दिन काटेर कहाँ अगाडिको सिट पाइन्छ र ?  त्यस्तै भयो अनि अन्तिममा पाइयो १३ नम्बरको सिट यानेकी अन्तिमको वारदेखि पारसम्मको सिट ।
खैर जे छ त्यसैमा रमाउनु पर्यो । एट लिस्ट बस्न त पाइयो ।
जसोतसो मनलाई सम्हाल्न खोज्दै थिएँ ।
बसियो सिटमा एयरफोन बिग्रिएकाले गाडीमै बजेको गीत सुनियो । ११ र १२नम्बरे सिटमा यस्तै २३, २૪ वर्षका ठिटाहरु थिए भने १૪ नम्बरमा अलि उमेर पुगेका देशविदेश घुमेका ३२ जतिका दाजु थिए । पल्लो छेउमा आमा छोरी हो कि बुहारी  कोहो चिनिएन । गाडी साँगुरा डिलक्सको जमाना भए पनि हामी भने पुरानै शेलीको गाडीमै अभ्यस्त थिम् यात्रा गर्न। बाटो साँगुरो भएर होला हाम्रो जिल्लामा प्रशस्त मात्रामा डिलक्स गाडीको व्यवस्था हुन सकेको थिएन ।
मेरा छेउमा बसेका सबै रमाइलो पाराका थिए । तर जति रमाइला कुरा गरे पनि बेलाबेलामा देश खाएर शेष पल्टेका जस्ता गहकिला कुरा गर्थे । गफी सबै जना थिए । एकले अर्कालाई आफ्ना कुराले इम्प्रेस पार्न खोज्थे ।
सबै जना सुख दुख जानेका अनुभवी थिए ।
भाषामा सरलता थियो ।
कुनै वनावटी थिएन । हुन पनि हो भाषा सरल हुनुपर्छ स्वतस्फूर्त रुपमा आउनु पर्छ । त्यसलाई बिगारेर भाषिक सम्प्रेषण गर्नु हुँदैन ।
आफ्नो ठेट भाषा बोल्न पाउँदा मलाई पनि छुट्टै आनन्द आयो ।
तर मलाइ उनीहरुलाई जत्तिको बोल्न आउँदैनथ्यो ।
अलिअलि जानेको पनि यो शहर भन्ने जन्तुले खाइदिएको थियो ।
शहर जहाँ बाँच्नको लागि मन नपरि नपरि अर्काको भाषा,  संस्कृति अगाँल्नुपर्छ । सारै निष्ठुरी छ यो शहर भन्ने जात ।
मनमनै शहरलाई गाली गरेँ ।
आजकलको प्रेम विषाक्त भएको कुरा गर्दैथिए उनीहरु । पैलापैला बिहेपछि मात्र प्रेम हुन्थ्यो आजकल बिहेअघि धेरै बार प्रेम हुन्छ । प्रेमको परिभाषा बदलिएको कुरा गर्थे । गाडीमा कुनै रिमिक्स गीत बज्दा ती कतार गएका आएका दाईले लौ हेर ट्यापे गीत आयो भन्दा हामी चारैजना मरिमरि हाँस्यौ । हामी आफ्नै दुनियाँमा थियौँ, कसैको वास्ता गरेनौँ । अन्तिम सिटमा बसेर रोयला गरिरह्यौँ ।
ज्योति मगर , सरस्वती लामा र अर्चना पनेरुको पनि प्रसंग आयो ।
यीनीहरुले आफ्नो देशको संस्कृति खाए पचाए ।
हाम्रा पालाका हिरोइनहरु कहाँ गए ? निरुता सिंह खोइ बिपना थापा खोइ ? सज्जा मैनाली खोइ ? जल शाह खोइ ?
धन्न करिश्मा मानन्धर हराएकी छैनिन् गाँठे । बेला बेला छातीमा भएको ट्याटु लिएर नयाँ शक्ति नामक पार्टीको कार्यक्रममा गैरहन्छिन् । एकैपटक सबैजना गललल्ल हाँस्यौँ ।
रेखा थापाले छबि ओझालाई बक्रा बनाएको कुरा पनि भयो ।
त्यहीं बेलामा एजजना गाइने दाइ बसमा आए आफ्नो सारङ्गी रेट्दै। घामले नि पोल्दियो जुनले नि छल दियो यस्तै नामको बोल लिएर। ती दाइ बडो मजाले गीत गाउँदै थिए।
मानौँ ती दाइको दिमाग शून्य छ कुनै पीडाले भरिएको छैन ।
आजकल त सारङ्गी बज्न छाडे । पैल‍ा पैला कतै केही घटना घट्दा सारङ्गी रेटेर उक्त घटनाको नालीबेली दिइन्थ्यो ।
प्रविधियुक्त जमाना आए बज्न छाडे । पैल‍ा जसले बजाउँथ्यो उनीहरु बुढा भए । उनीहरुका सन्तानले सारङ्गी बजाउने पेसा अँगाल्न चाहेनन् । हो आजकल यस्तै भएको छ ।
बाउबाजेले अँगाल्ने पुर्ख्यौली पेसा छोरानातिले अँगाल्न छाडेका छन् । यस्तै कारणले हाम्रो संस्कृति लोप हुँदै गएको छ ।
गाइने दाजुले गीत सकाएर हाम्रो अनुहारमा पुर्लुक्क हेरे ।
उनी हामीबाट केही चाहन्थे । सबैले सक्दो रकम दिए ।
कसैले सय कसैले पचास अनि कसैले बीस यस्तै यस्तै ।
मन आनन्दित भयो गाइने दाइको सारङ्गीको धुनले ।
अँ साँच्चै यो सारङ्गीले कति पीडा बोल्छ है ?
पश्चिमीहरुको भ्याओलिनले भन्दा पनि बढि ।
मलाई त सारङ्गी कुनै सङ्गीतको साधन नभएर पीडा पोख्ने साधन जस्तो लाग्छ । गाडीमा कोही  तन्ना लिएर आए कोही गुँदपाक लिएर आए कोही पोलेका मकै लिएर आए  कोही पानी ।
बाँच्नको लागि अनेक गर्नुपर्ने ।
सबै यो पापी पेटको सबाल थियो ।
पापी पेटको अगाडि सबैजना दुर्बल हुन्छन्, लाचार हुन्छन् ।
पापी पेटले सबैजनालाई कजाएको छ दुख दिएको छ ।
सबैजनालाई आफ्नो जीवन घाँडो लाग्छ ।
कहिले काँही अरुको जीवनलाई पनि नजिकबाट नियाल्नुपर्छ
मनको आँखीझ्यालबाट ठम्याउनु पर्छ ।
बाँकी कुरा धेरै भए
ती सबै कुरा लेखीसाध्य छैनन्
फुर्सद भयो भने अर्को पाल्टी लेखौँला ।

No comments

Powered by Blogger.